Wednesday, April 27, 2011

गैंडा संरक्षणमा अबको बाटो

,



कुमार पौडेल
 


शनिबार सार्वजनिक गरिएको राष्ट्रिय गैँडा गणनाको नतिजाले हामीलाई केही आशावादी बनाए तापनि अवस्था अझै सन्तोषजनक मानिहाल्ने भने छैन । ३ वर्षअघि ४३५ रहेको एकसिंगे गैंडाको सङ्ख्या अहिले बढेर ५३४ पुगेको छ । गैंडा गणनाले नै दिएको अर्को नराम्रो संकेत भनेको गैंडा सिकारी बढ्नु पनि हो । पछिल्लो ३ वर्षमा गैंडा मार्ने क्रम भने बढ्दो क्रममै छ । २०६६र६७ मा मरेका कुल २७ मध्ये १५ वटा गैंडा चोरीसिकारीबाटै मरेका थिए । विश्वमै अति दुर्लभ मानिएको एकसिंगे गैंडा, जो नेपाल र भारतमा मात्र पाइन्छ, त्यसको सङ्ख्या न्यून देखिँदा सबैमा एउटा साझा प्रश्न जन्मिरहेको छ, 'के एकसिंगे गैँडा अब लोपोन्मुख अवस्थामा पुग्न लागेको हो त ?'

 



गैंडाको वासस्थानका लागि उपयुक्त स्थान मानिएकाले नेपालमा धेरै अघिदेखि गैंडा पाइने गरेको अवस्था छ । यद्यपि सन् १९५० मा निकालिएको पहिलो आधिकारिक सङ्ख्यामा गैंडा झन्डै एक हजार रहेको पाइएको थियो । जसको क्रम घट्दो रूपमा जाँदा १९६८ मा एक सयभन्दा कम झरेको थियो । त्यसबेलादेखि सरोकारवालामाझ गैंडा संरक्षण गर्नुपर्ने सवाल सुरु भएको थियो । यद्यपि त्यसको झन्डै ४ दसक नाघिसक्दा पनि अवस्था त्यति धेरै उपलब्धिमूलक पाइँदैन । त्यसबीचमा गैंडाको संरक्षणका लागि पनि भनेर राष्ट्रिय वन्यजन्तु ऐन र राष्ट्रिय निकुञ्ज ऐन व्यवस्था भए तापनि व्यावहारिक पक्ष फितलो देखिएको छ । यसरी देशकै प्रतिष्ठासँग जोडिएको वन्यजन्तुको संरक्षणका लागि अब सरकारले एक सय रुपैयाँको नोटमा गैंडाको तस्वीर राखेरमात्र होइन कि संरक्षणमा उदासीनता देखिनुको कारण पहिचान गरी सोहीअनुसार योजना र दृढ प्रतिबद्धतासहितको कार्यक्रम आवश्यक छ ।



गैंडाको सङ्ख्या यसरी दिनानुदिन कम हुनुमा सबैभन्दा कमजोरी राज्यको जिम्मेवार तहमा रहेकै व्यक्तिहरूको पाइन्छ । विगतदेखिकै सन्दर्भ हेर्ने हो भने राणाकालमा विदेशी पाहुनाहरू नेपाल घुम्न आउँदा स्वागतका लागि गैंडा सिकारमा लगिन्थ्यो । उनीहरूले मार्ने गैंडाको सङ्ख्यालाई बहादुरीसँग जोडेर तक्मा र पदक दिइन्थ्यो । अहिलेको सन्दर्भ ठ्याक्कै त्यस्तो त छैन, तर अप्रत्यक्ष रूपमा शक्ति र सत्तामा पहुँच रहनेहरूकै संरक्षणमा गैंडा तस्करी बढिरहेको तथ्य पनि कहीँ कतैबाट छिपेको छैन । तथ्याङ्कहरूलाई नै केलाउने हो भने पनि कालगतिले मर्ने गैंडाको तुलनामा चोरीसिकारीबाट मर्ने गैंडाको सङ्ख्या बढी पाइन्छ । एकसिंगे गैंडाको सिङ निकै महँगोमा बिक्री हुनु नै यसको सिकार बढ्नु मुख्य कारण हो । गैंडाको सिङ यौनशक्ति बढाउनका लागि भनेर सबैभन्दा बढी प्रयोग हुने पाइन्छ । गैंडा जो आफ्नै यौन अवधि साढे दुई घन्टाको हुन्छ, त्यसले गर्दा पनि जनमानसमा उसको सिङको खाद्य प्रयोग तथा सजावटले यौनशक्ति बढ्ने भ्रम छ । मानिसहरू सयनकक्षमा गैंडाको सिङ सजाउँदामै वा गरगहनामा जोडेर लाउँदामै पनि यौनशक्ति बढ्ने विश्वास गर्छन् । तर वैज्ञानिक तथा संरक्षणविदहरू यो सब मानिसहरूको भ्रम रहेको मान्छन्, जसको कुनै वैज्ञानिक पुष्टिको आधार पनि छैन ।


समस्याको अर्को पाटो हाम्रो निकुञ्जको सुरक्षा प्रणाली तथा कमजोर नीति(नियम हो । निकुञ्ज सुरक्षार्थ खटिने सेनाहरू कुनै छुट्टै वा विशेष तालिमप्राप्त छैनन् जसले उनीहरूको संरक्षणको क्षमता र दक्षताप्रति प्रश्नचिह्न सिर्जना गराउँछ । समस्याको लुकेको अर्को पक्ष भनेको मध्यवर्ती क्षेत्रका जनताको जीवनस्तरमा ध्यान नदिइनु हो । उनीहरूको गरिबी गैंडा विनाशको कारण पनि हो । गैंडाको आवतजावत, बानीव्यहोरा तथा प्रकृतिको सबैभन्दा बढी जानकार मध्यवर्ती क्षेत्रकै व्यक्तिहरू हुन्छन्, जसको फाइदा थोरै रकम नै दिएर सिकारीहरूले उठाइरहेका हुन्छन् ।


संयुक्त अरब इमिरेट्सको एउटा उदहारण गैंडा संरक्षणमा दिनानुदिन कमजोर बन्दै हताश भइराखेका हाम्रालागि एउटा राम्रो उदहारण बन्न सक्छ । लोपको संगारमा पुगिसकेको एउटा चरा ुहबरा बुस्टार्डुको सङ्ख्यालाई अहिले उच्च विन्दुमा पुर्‍याइसकेको छ । त्यहाँको सांस्कृतिक महत्त्व बोक्ने उक्त चरा १९९७ मा १६५ को सङ्ख्यामा मात्र थियो, जुन २००९ मा झन्डै सत्र हजार पुर्‍याउन सकिएको थियो, जसको पहलकदमी त्यहाँको राजपरिवारले लिएको थियो । १९९७ मा रहेको न्यून सङ्ख्यालाई विशेष संरक्षण र सुरक्षामा राखेर उनीहरूको प्रजनन दर बढाउँदा अहिले त्यसको सङ्ख्यामा कायापलट सम्भव भएको छ । सन् २०१० अन्त्यसँगै तीस हजार त्यस्ता चराहरूलाई मोरक्कोको ुइस्टेन मरुभूमिुमा छाडिएको छ । यो अवस्थामा पनि निकै राम्रो गर्न सकिन्छ भन्ने यस घटनाले दिएको राम्रो संकेत हो । अर्को पाठ भनेको संरक्षणको पहल उच्च नेतृत्वले लियो भने त्यो निकै प्रभावकारी हुन्छ भन्ने पनि हो ।


गैंडा मार्नेलाई वन्यजन्तु ऐनमा अहिले १ लाखदेखि १।५ लाखसम्म जरिवाना एवं ५ देखि १५ वर्षसम्म कैदको व्यवस्था छ । जसमा सर्वोच्च अदालतको पछिल्लो निर्णयअनुसार कम्तीमा १२ वर्षको सजाय हुनुपर्ने भनिएको छ । यद्यपि यसरी विश्वमै दुर्लभ मानिएको वन्यजन्तुको मामिलामा यस प्रकृतिको सजाय कम मानिन्छ । बंगलादेशमा बाघ सिकारीलाई मृत्युदण्डको सजाय दिनेसम्मको व्यवस्था छ, जसले बाघ सिकारी निकै कम हुने गर्छ । अतः गैंडा संरक्षणको यो सवाललाई अरूका उदाहरण एवं हाम्रै गल्तीहरूबाट सिक्दै अघि बढ्नु आवश्यक छ । हामीले बुझ्नुपर्छ कि गैंडा  मात्र एउटा वन्यजन्तु होइन, नेपाललाई विश्वजगतमा चिनाउने अर्को बलियो आधार पनि हो ।


This is my oped appeared in print  in Kantipur daily. Click here for e-paper view


0 comments to “गैंडा संरक्षणमा अबको बाटो”

Post a Comment