Saturday, December 3, 2011

अस्कललाई साक्षी राखेर बितेको ५ बर्ष

,

“बौलाएर काम गर”, स्टिभ जब्सले कुन सन्दर्भमा यो कुरा भनेका थिए, त्यो त मलाई थाहा छैन। तर मेरो लागि कात्तिक ३० गतेको त्यसदिन उनको त्यो भनाई कतै मेरो लागि त बनेको थिएन भन्ने लागिराखेको थियो । त्यसअघि नै २ वृत्तचित्र बनाएता पनि त्यसबेला मैले बनाउन गइराखेको तेस्रो डकुमेन्ट्री मैले नभई मेरो प्यासनले बनाउन गइराखेको थियो । मित्र प्रदीपले त्यसको कथाबस्तुको एउटा अंश बताएर नभ्याउँदै मेरो दिमागमा त्यसको डकुमेन्ट्री बनिसकेको थियो, अब मात्र आवश्यकता थियो अरुलाई देखाउन मिल्नेगरी उक्त वृत्तचित्र बनाउने ।

मैले अघिल्ला २ प्राक्टिकल निकै मिहिनेतसाथ पढेको थिए तर ति दुवै राम्रो भएन । तर तेस्रो तथा अन्तिम (अझ कलेजकै अन्तिम दिन) म बालै होस् भनेर परिक्षाहल छिरेको थिएँ । ५ बजे परिक्षा सकिन्थ्यो तर हाम्रो स्याङ्जा जाने गाडि ५ बजे त बसपार्कबाट रवाना हुँदैथियो । कसरी सकियोस परीक्षा दिन । खै कसरी मेरो हातको गति तुफान रुपमा बढ्यो मलाई थाहा छैन तर मैले परिक्षा २ बजे नै सकें, अघिल्ला भन्दा राम्रो नि भयो । मैले काÞपी बुझाउदै कुशललाई आफ्नो फाइल घर लगिदिन आग्रह गर्दै सबैलाइ बिदाई भन्न भ्याएँ । यो नै मेरो अमत क्याम्पसमा औपचारिक रुपमा अन्तीम दिन थियो । सुन्धारामा प्रतिक्षा गरिरहेका साथीहरु प्रदीप र अंकित अधिकारीलाई भेटेर लागियो मनले गर्न खोजेको कामतिर ।

म हतारहतार गेट बाहिर आईपुगे । गेट पाले दाई सँग हात मिलाएँ । उत्तिनै समय मेरा आँखा होस्टल अगाडी गार्डेनमा उभिएको अमत प्रधानको शालिकमा पर्‍यो जसलाई मैले बितेका ५ बर्ष देखि नियाल्दै आइरहेको थिए तर त्यसदिन उसलाई छाडेर निस्कंदा खै किन मलाई निकै नमज्जा लाग्यो र उत्तिकै माया त्यस निर्जिव मुर्तिको पनि ।  निर्धक्क रोड पार गरें । 

Blogger with Pradeep & GRP (from left)
म रोड पार गर्न नसकेर आकाशे पुलमा पाँच पटक चडी सक्दा पनि गन्तब्यमा पुग्न नसकेको सम्झेर हाँसो लाग्छ । आज पनि रत्नपार्कमा उभिएको गणेशमानको शालिक देख्दा त्यहीं घटना सम्झेर रमाइलो लाग्छ ।

जुगाँको रेखी राम्ररी नबसीसकेको बेला म १५ दिन रत्नराज्य क्याम्पस (जहाँ मानविकी मात्र पढाई हुन्छ) धाएर साइन्स पढ्ने सपना देख्थें । पछि कसैले सल्लाह दिएर ओभरसिएर बन्ने सपनासाथ थापाथली आउन थालेको थिएँ । बुवाले २०३० सालतिर अरनिको राजमार्गमा ओभरसिएर देख्दा नै आफ्नो छोरालाई ओभरसिएर बनाउने सपना पाल्न थाल्नु भएको रहेछ । दाई पनि उक्त सपना पूरा गर्न नभ्याएपछि अन्तिम विकल्पको रुपमा मै थिएं ।

तर मेरो दिमाग अर्कै सोचिराखेको थियो । म शुद्ध विज्ञान पढ्न चहान्थें । ढिलै सहि २० दिन पछि म बुवाको ३२ बर्षको सपना माथी धावा बोल्दै सन्तोष पराजलीको मा पुगें सहाएता माग्न । उनको सहयोग मलाई बिज्ञान पढ्ने कलेज देखाउनु थियो जुन कहाँ छ मलाई थाहा थिएन । उसले मलाई माइतीघरबाट धरहरा देखाउदै भन्यो, “यो अग्लो घर भएको ठाउ सुन्धारा हो । त्यहाँ पुगे पछि आधा घण्टाको हिँडाईमा बिज्ञान पढ्ने क्याम्पस पुगिन्छ ।” सन्तोष पहिले देखिनै चिसो र बेकरीको फ्यान पुतलीसडक पुगि चिसो र वेकरी खाने प्रस्ताब तेस्र्यायो, मैले पनि ईन्कार गरीन । उता क्याम्पसको गेट पनि खुल्लै थियो र उसले मलाई सरासर जुलोजी डीपार्टमेन्टको बार्तलीमा पुयायो । एक हुल परेवा बिस्ट्याउँदै उडे । जिउ भरी लाग्यो । ऊ भने मलाई जिस्क्याउँदै भन्दै थियो,  “कस्तो लाग्यो त कलेज ?” पढ्न आउने त पटक्कै मन थिएन तर मसँग बिकल्प थिएन । “अस्कल पढ्ने वा नपढ्ने ? एक बोतल विष खान्छ कि गोली हानम ?” भने सरह थियो । अन्तिममा मैले विष नै खाने निर्णय गरें ।

नेताहरुको सहायतामा भर्ना पनि गरियो । क्याम्पस आउन पनि थालियो । दिनहरु बित्दै गए , कहिले काहीँ बाटोमा कहाँ पढ्छौ भनि मानिसहरु सोध्थे, अस्कल भन्ने उत्तर सुन्दा डराएको देख्दा भने गतिलो नै कलेज पढिएछ भन्ने भान हुन्थ्यो । क्याम्पसमा हुने तालाबन्दी आन्दोलनले प्रथम बर्षपछि निक्कै सतायो । मैले पनि सोच्न थालँ अब अमृत क्याम्पस परिर्वतन गर्न पक्कै मेरो आवश्यकता छ । राजनीतीमा पनि केहि समय राम्रै दिइयो । अन्त्यमा भने म नेता नहुने   (अझ राम्ररी भन्दा हुन नसक्ने) निर्णय गरेँ।

Amrit Science Campus 

विरेन्द्र श्रेष्ठ सर नहुँदो हो त मेरो अस्कलसँगको सम्बन्ध सायदै गाँसिन्थ्यो । मैले जीवनमा केही राम्रो काम कुनैसमय गरें भने त्यसको योगदानको धेरै हिस्सा उही मेरो हृदयले बाबुआमापछि सबैभन्दा बढि सम्मान गर्ने विरेन्द्र सरलाई नै जान्छ । यद्यपि एसियन साइन्स क्याम्पमा जाँदा भेटिएका हाल ज्याकोब्स विश्वविद्यालय जर्मनीमा इञ्जिनियरिङ पढ्ने गृष्मराज पाण्डेय भाईको एउटा भनाईले (दर्शन) मलाई हरेक समय एउटा उर्जा दिन्छ । उनी भन्नेगर्थे, “लाइफ इज इभेन्टस् अफ प्रोब्याबलिटी” । जीवनको हरेक मोड महत्वपूर्ण हुन्छन् र सबैमा केही राम्रै लुकेर बसेको हुन्छ । गृष्मको उक्त दर्शनलाई नै आधार मान्ने हो भने अस्कल आएकै कारण म उनीसँग भेट्न पाएँ जुन मेरो जीवनकै एउटा ठूलो उपलब्धी हो (जसको व्याख्या सम्भव छैन, म मात्र अनुभव गर्न सक्छु) र, गृष्म नभएकै भए अर्का अनन्य मित्र प्रदीप बस्यालसँग पनि मेरो भेटघाट हुँदैनथ्यो । र, अहिले सम्झन्छु मेरो जीवनमा यी दुई साथीहरु नभएको भए
मेरो जिवनले अर्कै मोड लिन्थ्यो होला।  यि दुई साथीमार्फत मैले सिकेका कुरा धेरै छन् तर भन्नैपर्दा एउटा भने यस्तो छ । सिन्धुपाल्चोकमा जन्मेर त्यहाँबाट देखिने भेगजतिलाई मात्र संसार ठान्ने म अहिले यो विश्वलाई नै निकै सांघुरो मान्न थालेको छु । जीन्दगीमा प्रगति, दुर्गतीलाई मैले खासै ठूलो ठान्दिन । यी त स्वभाविक प्रकृया मात्र हुन् ।

यद्यपि मेरो लागि क्याम्पस जीवन निकै “भेग” भइदियो । म कहिल्यै क्याम्पस नगएको पनि होइन,  गर्लफ्रेन्ड/डेटिङ त अरुको हेरैरै चित्त बुझ्थ्यो । सरले नपढाएको पनि हैन तर मैले केहि सिकीन, केहि जानिन सिक्न खोज्दा खोज्दै, जान्न खोज्दा खोज्दै समयको यो खण्डले मलाई पछाडी पार्‍यो हरेक दिन जमलको नाचघर हुँदै म क्याम्पस आइपुग्थेँ । मनमा मौसम बेमौसमका बादबिवाद चलिरहन्थे । मनमा हरेक दिन एउटा नयाँ लेख छापिन्थ्यो अनि केहि प्रतिक्रिया आउन नपाउँदै मेटिन्थ्यो । यो क्रम चलि नै रह्यो । म सँधै आफ्नो अभावलाई कमजोरी बनाएर पछी परी रहें । पटक पटक रिर्सच गर्ने निहुँमा पोखरा, बाग्लुङ, स्याड्र्जा, धादिङ, गुल्मी, लगायतका धेरै ठाउँहरु  घुमियो। ढोरपाटन सिकार आरक्षणको भ्रमणमा सुबोध सरसँगको भलाकुसारी अबिस्मरणीय रह्यो । जसले प्रेरित मात्र पारेन अझ अघि बढ्न उत्साह पनि थप्यो । अधिक समय क्याम्पस बाहिरकै साथीहरु सँग बिते पनि सहपाठी मित्रहरु धेरै सहयोगी नै रहे । खगोलमा एस्ट्रो पार्टीकल बारे अध्ययनले झन् मलाई एउटा बेग्लै उर्जा दिन्छ । म हरेक कुरालाई प्रकाश बर्षमा हेर्न थालेको छु, हरेक बस्तुलाई ब्रमाण्डसँग दाँज्न थालेको छु जसले मलाई हमेशा “आई एम नोथिङ” भन्ने शिक्षा दिन्छ ।

यो लेखिंरहंदा अचानक मोबाइल बज्यो म झसंङ्ग भएँ । प्रदीपले फोन गरेका रहेछन् । “दाई तपाई कहाँ स्क्रिप्ट लेख्न आउनुपर्‍यो”, म केही सोच्दै नसोची कीर्तिपुर दगुरें । स्टिभ जब्सले भनेझैं म बौलाहा सरी छु । म खुसी छु, आशावादी छु, मसँग केही छैन तर अलिकता आँट (कन्फिडेन्स) छ । अरुले जे भनुन् “बालै भएन ।”

0 comments to “अस्कललाई साक्षी राखेर बितेको ५ बर्ष”

Post a Comment