Thursday, February 9, 2012

प्रागमा पग्लिएको मन

,

कुमार पौडेल 



चेक गणतन्त्रको राजधानी प्रागमा एक महिने खगोल विज्ञानको विश्वव्यापी अनुसन्धान क्याम्पमा सहभागि भएर सकिसक्दा मन यसरी खगोलिय भएछ एयरपोर्टमा क्यानेडियन साथी सेभेत्लानासँग छुटिंदा हामीविचको वार्तालापले खगोलिय भाषामै भावुक बनायो । उसका आँखा बिदाई सहन नसकी रसाउँदै थिए भने म के बोल्नु के नबोल्नको दोधारमा छटपटाएको थिएँ । “हेई, तिम्रो मुहारमा उदासी सुहाउँदैन”, ऊ आँखामा रसाएका आँसु लिएर दह्रो बन्न खोजी, “चिन्ता नगर । तिमी नेपालबाट क्यासोपिया (एक तारापुञ्ज) हेर, म क्यानाडाबाट हेर्छु जसले हामी साथै भएको आभास गराउँछ ।” उसको खगोलिय आह्वानले म नाजवाफ भएँ । मुखबाट अनायसै निस्कियो, “अब त त्यो पनि सम्भव छैन । मैले नेपालमा क्यासोपिया हेर्दा क्यानाडामा दिउसो हुन्छ र तिमीले त्यहाँ हेर्दा नेपालमा दिन ।” कति असल हुन्थ्यो दिनमा नै तारा देखिने भए ।



उसले झन् झन् भावुक बनिरहेको मेरो मनलाई सम्हाल्न अर्को पासा फ्याँकि । त्यही त हाम्रो विशेषता हुनेछ । हामी चौबिसै घण्टा सकृय हुन्छौं ।” बोर्डिङको समय आइपुगेको थियो । आँखामा आँसु नै लिएर पनि थप समय बस्न सकिने अवस्थामा थिइन । एरोफोल्र्टले आफ्नो रफ्तार समात्यो । महिनादिन क्याम्पमा बिताएका पुराना क्षण सम्झन त्यो ६ घण्टा कयौं गुणा कम थियो । मैले ६ घण्टा पछि रसियाको मस्को एयरपोर्ट उत्रेको थाहै पाइनँ ।

विश्वका फरकफरक देशबाट निकै कडा प्रतिस्पर्धाबाट सहभागि भइरहेका ६३ जना कलेजे विद्यार्थीहरुका बिच म नेपालबाट एक्लो र हालसम्मकै प्रथम सहभागि । तर भूगोल र भाषा बिर्सेर हामी साथी बनेका थियौं । पहिलो दिन सबैले आ–आफ्नो भाषामा मैनबत्तिको उज्यालोमा कविता पाठ  गरेका थियौं(क्यान्डल लाइट रिसाइटेसन) । मैले एउटा गजल बाचन गरेको थिएँ । पश्चिमा जगतका मानिसहरु कंक्रिट जंगलमा हुर्किरहंदा भावनात्मक रुपमा कमजोर हुन्छन् भन्ने मैले धेरैका मुखबाट सुनेको थिएँ । तर सेभेत्लाना आफैमा एउटा अपवाद थिइन् जसले मानिसहरुले पोख्ने माथिको तर्कलाई फेल गरीदिएकि थिइन् । यस्तो लाग्थ्यो भावुकता उनको जिवनमा उप्काउनै नमिल्ने गरि टाँसिएको थियो ।


हरेक साँझ हुने हाम्रो वार्तालापमा उनको मनमा त्यस्तै भावनात्मक कुरा मात्र गुन्जन्थ्यो । “क्यानाडामा त मेरो कुरा तिम्लेसजसरी सुनिदिने मान्छे नै पो कहाँ भेटिन्छन् र ।”, हामी तारा हेर्दै यस्तै कुराहरुसाथ महिनादिन काट्दा निकै आत्मिय बनिसेकेका थियौं । खलोलशास्त्रीलय अध्ययन भएको हुँदा अनुसन्धानको लागि राती सकृय हुनुपथ्र्यो जसकारण हामी दिनभर सुत्थ्यौं ।


भौतिकशास्त्रकी अब्बल विद्यार्थी उनबाट मैले धेरै राम्रा ज्ञान र अन्वेषण शैली सिक्न पाएँ । तर उनले एकदिन भनेको कुरा भने अचम्मको थियो । उनले भन्थीन्, “मैले तिमीबाट बोल्न पो सिकँे त ।” म अचम्म परें । “भनेपछि मेरो वाचनशैली त्यति राम्रो छ ?”, ठट्यौली पारामा मुस्काउँदै भने । “कम अन कुमार, कुरा अर्कै छ ।” ऊ त भावुक पो बनी । खास भएको कुरा अर्कै रहेछ । क्यानाडामा उसको भएका साथीहरु भनेका कलेजका सहपाठि मात्र हुन् जसमध्ये पनि उसले कसैलाई आफ्नो मिल्ने साथी बनाउनै सकेकी छैन अझ भनौं भेटेकै छैन । त्यसैले ऊ प्रायः कलेजमा पनि शान्त र एक्ली रहँदिरैछ । २० तल्ला माथि उसको फ्याट छ जहाँ छेवैमा को बस्छ भन्ने नै थाहा हुँदैनथ्यो रे । बुवा–आमा दुवै काममा जानुपर्दा राम्ररी बसेर कुरा गर्न त परै जाओस भेट्न समेत गाह«ो पथ्र्यो उनलाई । “अनि त ? मसँग मौन रहनुको विकल्प थिएन कुमार”, सत्रौं दिन तारा हेर्दै उसले भनि, “मेरो मनमा फिजिक्सका नयाँ नयाँ कुराहरु खेल्थे, तर कसैलाई सुनाउन पाउँदिंनथें म ।”











यस्तो दैनिकीसँग अभ्यस्त भइरहंदा उसलाई कतै संसार नै यस्तै पो हो कि भन्ने लाग्न थालिसकेको रहेछ । “त्यसैले मेरो लागि यो क्याम्प खगोलशास्त्रकै भाषामा नयाँ विश्वको अन्वेषण गरेजस्तै हो ।” उनका कुरा साँच्चै अचम्म लाग्दा थिए ।




क्याम्पको अघिको अन्तिम दिन । अनुसन्धानका सबै कामलाई फत्ते गरेर हामी सबै मैनबत्तीको उज्यालोमा एउटा हलमा थियौं । अगाडि सबैका नाम लेखिएका ६३ वटा कप थिए । शान्त हलमा आवाज मात्र हामी सहभागिहरुको “सुँक्क–सुक्क” गरेको आउँथ्यो । म त्यहाँ धेरैबेर बस्न सकिन र केही कपमा मात्र सम्झनारुपि शब्द कोरेर निस्किएं । भोलिपल्ट क्याम्प छाडेर एक्लै भएपछि मात्र ति चिटहरु पढ्न पाइने नियम बनेको थियो हाम्रो । त्यसैले घर लाग्नुअघि मैले आफ्नो कप समातें । एयरपोर्टमा उसँग छुट्टिनेबित्तिकै मलाई उक्त कप हेर्न हतार भइसकेको थियो । झण्डै ३ दर्जन चिटहरु थिए मेरोमा । एउटामा लेखिएको थियो, “कुमार, कृपया मेरो लागि क्यासोपिया हेर्न नबिर्स ।”

This appeared in print at  Sukrabar-03-feb 2012.


0 comments to “प्रागमा पग्लिएको मन”

Post a Comment