Thursday, February 9, 2012

ढोरपाटनमा नीलो भेँडा अमिलो मन

,

कुमार पौडेल 

‘हाम्रो वन्यजन्तु सम्बन्धि कार्यनीति के साँच्चै वैज्ञानिक र व्यावहारिक छ ?’ ढोरपाटन बन्यजन्तु शिकार आरक्षको अध्ययन भ्रमणमा पुग्दा मनमा झट्ट उब्जिएको प्रश्न हो यो । विश्वमा पाइने १४ प्रजातिका भेडामध्ये नाउरको (ब्लु सीप) प्रमुख बासस्थानको रुपमा रहेको यहाँ पहिलोपटक सन् २००७ मा गणना गर्दा यस जंगली भेँडाको कुल सङ्ख्या ८ सय ५२ पाइएको थियो । आरक्षको कुल ७ ब्लकमध्ये ६ वटामा नीलो भेंडा ‘नाउर’ पाइन्छ जसलाई नेपाल सरकारले कानुनी रुपबाट शिकार गर्न अनुमति दिएको छ । तर बदलिँदो समयमा यसको संरक्षण र शिकारीको नियममा पुर्नविचार गर्नुपर्नेमा ध्यान पुग्न सकेको छैन ।

कुनै पनि वन्यजन्तुको अवस्था सधैभरी एकनासको रहन सक्दैन भन्ने संरक्षण क्षेत्रको एउटा सामान्य मान्यता नै हो । अझ चोरी, शिकारी र तस्करी बढिरहेको पछिल्लो समयमा यस मान्यताले झनै महत्व राख्छ । त्यसका लागि विभिन्न समयमा गणना गरिनु र सोहि अनुसारको नीति तथा कार्यक्रम अध्यावधिक  हुनुपर्छ । तर हाम्रो कमजोरीको पाटो पनि यहीँनेर छ । ढोरपाटनमा यसपटक त्यसै भयो । स्थापना कालदेखि शिकारको अनुमति दिएर राखिएको बन्यजन्तु नाउरको सन् २००७ मा एक हजारभन्दा कम सङ्ख्यामा पाइँदा पनि अझै त्यो मानिसले शिकार गर्न पाउने दर्जाको बन्यजन्तुमै छ । न त त्यसको सङ्ख्या बृद्धि गर्न विशेष संरक्षण कार्यक्रम र नीति नै ल्याइएको छ । २०११ गरिनुपर्ने नयाँ गणना समेत पूरा हुन सकेन । २ वटा ब्लकमा गणना हुँदा हुँदै अन्यको लागि पैसा तथा स्रोतको अभाव भन्दै गणनाको कामलाई रोकियो । र, ति दुई वटा ब्लकमा भएको गणना समेत पछिल्ला वैज्ञानिक प्रकृयाबाट नभई दूरबिनबाट हेरेर सामान्य रुपमा गरियो ।

नाउर शिकारको लागि एउटा विदेशी ढोरपाटन आउँदा करबापत ४० हजार तिर्नुपर्छ भने त्यसक्रममा उसले हेलिकप्टर, स्थानिय गाइड, क्याम्पिङजस्ता कुरामा नै लाखौं खर्चन्छ । अर्कोतर्फ स्थानियहरुले छुट्टै १ लाख बढि उठाउँछन् । यसरी बहुआयामिक पक्षबाट राम्रो मानिएको नाउरको सङ्ख्या कम हुँदै गयो भने त्यहाँका मध्यवर्ती क्षेत्रमा बस्ने हजारौंको जीवनमा नै समस्या आउन सक्छ ।


राष्ट्रिय निकुञ्ज संरक्षण तथा वन्यजन्तु ऐन २०२९ ले हिमाली क्षेत्रका संरक्षित ठाउँहरुमा  मध्यवर्ती क्षेत्रका जनताका पशु निकुञ्ज क्षेत्रमा चरण गर्न पाइने व्यवस्था छ । तर नाउर सँरक्षको मामिलामा यसले समस्या सिर्जना गरिराखेको छ  । ‘शान्ति प्रिय’ जनावरको रुपमा रहेको नाउर घरेलु जनावरको अतिक्रमणमा पर्नाले उच्च हिमाली भेगतर्फ बसाई सरीराखेको छ । त्यसले नाउरको सङ्ख्यामा त कमी आउनुका साथै ढोरपाटनको मुख्य अर्थोपार्जनको स्रोत गुम्न सक्छ ।


१४ प्रजातिका सबै जंगली भेडाहरुलाई उनीहरुकै वासस्थानमा पुगेर शिकार गर्न सक्नेलाई अमेरिकामा ‘सुपरसल्म’ पुरस्कारबाट सम्मानित गरिने हुँदा पनि यसकोे शिकारीका लागि उत्तर अमेरिकीहरु बढिभन्दा बढि खर्च गर्न समेत हिचकिचाउँदैनन् । र , यसको शिकारीका लागि पनि आरक्ष क्षेत्रमा लामो समय खर्चनु पर्ने हुँदा पनि बन्यजन्तु पर्यटनको यस विशेष पक्षलाई हामीले अझै महत्वको केन्द्रमा पार्न सकेका छैनौं ।




समस्याको समाधानका रुपमा स्थानिय जनतालाई दिगो विकासको अवधारणा सिकाउनु पनि उत्तिकै आवश्यक छ । उनीहरुलाई आफ्नो स्थानिय स्रोतको अपनत्वको भावनामा समेत कमि आउन नदिनेगरी संरक्षणको ज्ञान नदिसम्म राष्ट्रिय नीतिले मात्र प्रभावकारी काम गर्न सक्दैन । त्यहाँ पर्यटन उद्योगको बिकास गर्न सकिने अनेकौं तरिकाहरु भएता पनि स्थानियहरुमा त्यसको बोध हुन नसक्दा जिम्मेवार युवाहरु गाउँबाट बाहिरीरहेका छन् ।



सिकारका लागि आएका पर्यटकले सरकारी र स्थानिय गरेर लाखौं कर तिर्दा समेत उक्त पैसको स्थानिय स्तरमा सही सदुपयोग हुन सकिराखेको छैन । हिउँ–चितुवा, हाबे्र, कस्तुरी, ध्वाँसे चितुवा, हिमालयन कालो भालु, ब्वाँसो, डाँफे, मुनाल, चिरजस्ता दुर्लव बन्यजन्तुको वासस्थानको रुपमा ढोरपाटन रहेता पनि संरक्षणको क्षेत्रमा कार्यरत संस्थाहरुको पहुँच देखिँदैन । उता चितवनमा हेर्ने हो भने संरक्षण क्षेत्रमा कार्यरत दर्जनौं गैरसरकारी संस्थाहरु भेटिन्छन् । यसले हाम्रो संरक्षणको काम के बिकटताकै कारण पछि परिराखेको त होइन भन्ने प्रश्न जन्माउँछ ।


हालै सम्पन्न ‘ढोरपाटन महोत्सव–२०६८’ मा हेलिकप्टरमा चढेर मन्त्रीसहित देशका प्रतिष्ठित व्यक्तिहरु पुगे । जसले कम्तिमा महोत्सव अवधिको लागि भए पनि ढोरपाटको माहोललाई रमाइलो बनायो । पत्रपत्रिकाले ढोरपाटनको सुन्दरताको बारेमा पत्रपत्रिकामा दर्जनौं सामाग्रीहरु छापिए । तर ढोरपाटनको भित्री दुःखमा कसैको ध्यान पुग्न सकिराखेका छैन । मलाई त्यहाँको निलो भेडा (नाउर) देख्दा जति मन फुरुंग भएको थियो भित्री समस्या र त्यसले ल्याउन सक्ने भावी समस्याको कल्पना गर्दामै मन अमिलो भएर आउँछ ।

0 comments to “ढोरपाटनमा नीलो भेँडा अमिलो मन”

Post a Comment