Monday, June 25, 2012

गैंडा मरणको अन्तरकथा

,

कुमार पौडेल

मंगलबार साँझ चितवान राष्ट्रिय निकुञ्जमा पुनः एउटा अर्को गैंडा मारियो र शिकारी खागसहित उम्कन सफल भयो । त्यसले सन् २०११ लाई ‘शुन्य शिकार बर्ष’ मनाएर २०६८ लाई बिदाई गर्न खोजेका संरक्षणकर्मीलाई बर्षको अन्त्यमा निराश पा¥यो । तीन बर्ष पछि गैंडा गणनाको २०६८ को शुरुमै भएको पछिल्लो  गणनाको संस्करणले धेरैमा आशाको संचार गरेको थियो । त्यसबेला झण्डै एक सय गैंडा बढेका थिए ।

विश्वमा दुर्लव बन्यजन्तुको रुपमा रहेको ‘एकसिंगे गैंडा’ (जो नेपाल र भारतमा मात्र पाइन्छ) को यस्तो हालत हुँदा जसरी अनुसन्धान र कारवाही अघि बढ्नुपर्ने हो जुन हाम्रोमा छैन । मात्र, हरेक घटनापछि  पोचिङ कन्ट्रोल युनिट एउटा रेडिमेट स्पष्टिकरणका लागि जुट्छ,  बन्यजन्तु विभाग तथा राष्ट्रिय निकुञ्जका पदाधिकारीहरु नियम र कानुनलाई दोष दिँदै पत्रपत्रिकालाई अन्तरवार्ता दिनमा भुल्छन् र हेटौँडा अदालतलाई मात्र ‘अर्को एउटा’ मुद्दा आइलाग्छ । प्रहरी र प्रशासन समेत यसमा नजुट्ने होइनन् । तर उनीहरुका अध्ययन, अनुसन्धानले निकाल्ने तथ्य सधै प्रायः उस्तै हुन्छन्– घटनामा चितवन आसपासकै जनता संलग्न थिए भन्ने । कथमकथाचित वास्तविक शिकारी पत्ता लागिहाले पनि पचास हजार जरिवाना अनि बढिमा पाँच बर्ष कैद त हो । जसमा समेत धेरै पहिल्यै उम्केका प्रशस्त उदहारण छन् यहाँ । यी सबै घटनाक्रमले यसमा ठूलै पहुँच र पैसावालको संलग्नता छ भन्ने सहजै देखाउँछ तर हाम्रो अनुसन्धान सधै तल्लो तहमै अल्झिरहेको छ ।


किन मारिन्छन् यी निर्दोष गैंडाहरु ? धेरैका तर्कहरुका आफ्नैखाले फेहरिस्त छन् । गरिबीको मार खेपिराखेको भरिया शिकारीको गुजारा चलाउन, स्थानिय तस्कर धनी बन्न, अन्तर्राष्ट्रिय तस्करले अकुत सम्पति कमाउन । तर यसको चक्र पूरा हुन्छ, एक बिलासि सुल्तानको काम उत्तेजनाले भरिपुर्ण रातमा पुगेर वा कसैको बाँच्ने आशालाई जिवितै राख्न । आलिशान महल तथा शयनकक्षहरु बाघका छाला अनि गंैडाका खागले सजिन्छन् जसको कारण यसले काम उत्तेजना बढाउँछ, यौन शक्ति बढाउँछ (गंैडाको जस्तै दुई घण्टा भन्दा लामो), अनेकन यौनरोग निको पार्छ भन्ने छ ।


कुनै वैज्ञानिक आधार नभएका यस्ता भ्रामक कुराहरुले प्रयोगकर्ताहरुलाई सन्तुष्ट पारे नपारे पनि यसले धेरै जनावरको अस्त्त्वि संकटमा पारेको छ । विशेषतः बाघ र गैंडा विश्वबाट नै लोप हुने अवस्थामा पुगेका छन् । विगत ४० बर्षको तथ्याङ्क लाई हेर्ने हो भने विश्वमा  गैंडाको सङ्ख्या ९० प्रतिशतले घटेको देखिन्छ । यसले देखाउने तथ्यले भन्छ, ‘अबको केहि बर्षमा नै  गैंडा  विश्वबाट लोप हुने प्राय निश्चित छ ।’


जसको मुख्य कारण खाग तस्करी नै हो । विगत तीन बर्षमा चितवन राष्ट्रिय निकुञ्जमा मात्र पाँच दर्जन गैंडा मरे जसमध्ये आधा भन्दा बढी मारिएका थिए । यसरी निकालिएका खागहरु काठमान्डौँ, बाह्रबिसे हुँदै तिब्बत पुग्छन् भने कति भारतको सिलिगुडि हुँदै खाडि मुलुक । तिब्बत बन्यजन्तुका अङ्गको निम्ती विश्वकै सबै भन्दा ठुलो बजार हो । विशेष गरी परम्परागत चाइनिज औषधि बनाउन यसको प्रयोग हुने गरेको छ । चाइनिज परम्परागत औषधि पद्धति अनुसार गैंडाको खागले ज्वरो, टाईफाइड, सर्पले  टोकेको, टाउको दुखाई लगायत विभिन्न रोग निको पार्ने विश्वास गरिन्छ ।


भ्रामक अफवाहहरुका बिच बजारमा चर्काे माग बढेपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तस्करहरु महँगो माग पुरा गर्न तल्लिन छन् जसले उनीहरुको गैंडा मोहलाइृ समेत पछिल्लो दिनमा बढाएको छ । उदहारणको रुपमा ताइवानमा रहेको एउटा मात्र गैंडालाई हेर्न सकिन्छ जुन समेत तस्करहरुकै कारण म¥यो । सन् २०११ मा दक्षिण अफ्रिकाले मात्र ३३५ गैंडा गुमायो । अवस्था एसियामा पनि उस्तै छ । राष्ट्रिय निकुञ्जमा गैंडा सकिन थाले पछि बजारको माग धान्न तस्करहरुले गैंडाको खाग राखिएका सङ्ग्रालयलाई समेत निशाना बनाउन थालेका छन् ।




गत महिना फ्रान्सको पेरिसमा रहेको ‘म्युजियम अफ सेन्ट्रल म्यारिन्स’ मा दिन दिउसै तस्करहरुको समुहले गैंडाको खाग लुटेका थिए । पछिल्लो समय युरोपियन सङ्गा्रहलयहरुमा खाग चोरिने क्रम निक्रै बढेको छ । यसले गैंडा मोह तस्करहरुमाझ निकै बढेको देखाउँछ जसका लागि जति तदारुपता लगाएर सरोकारका निकाय लाग्नुपर्ने हो त्यो कत्ति पाइँदैन । अझ त्यसमाथि नेपालमा पाइने गैंडा एकसिंगे भएकोले यसमा अन्यत्रकोमा भन्दा बढ्ता आकर्षण समेत छ । कतिपय संरक्षणकर्मीहरु एसियामा बढेको आर्थीक बृद्धिदरलाई समेत यसको शिकारको कारक मान्छन् । मानिसहरु बढि मुल्य तिर्न सक्षम भएका छन् र सजिलै ६० हजार अमेरिकी डलर तिरिरहेका छन् । यस्तो संवेदनशील बिषयमा न त नेपालको वन्यजन्तु कूटनीति अब्बल देखिन्छ । तिब्बत, चिन यसरी शिकार तथा तस्करी बढ्नुमा मुख्य जिम्मेवार छन् जहाँ पछिल्लो ईन्टरपोलको तथ्याङ्कलाई नियाल्दा ८५% तस्कर चिनिया रहेको देखिन्छ भने अर्काे तिर तिब्बत सबैभन्दा ठुलो बजारको रुपमा छ । यद्यपि चिन सरकारसँग बन्यजन्तु ऐन भने निक्कै कडा छ र नेपालले त्यसैगरी समन्वयात्मक रुपमा कानुनी र प्राविधिक हिसाबले अघि बढेमा त्यो नियन्त्रण समेत सहझ देखिन्छ ।




यो र्उलँदो बजार रोकिन  कि निकुञ्जमा गैंडा सकिनु पर्छ, कि त बजारमा माग । बजारमा माग सकिएत ठिकै छ, निकुञ्जमा यस्ता संकटापन्न बन्यजन्तु सकिने क्रम बढेमा एउटा प्राणि संसार बाट लोप हुने त छँदै छ जसले जैविक संकट ल्याउने निश्चित छ ।


बैज्ञानिक अनुसन्धानले स्पष्ट रुपमा पुष्टि गरिसकेको छ कि गैंडाको सिङ केराटिन नामक पदार्थले बनेको हुन्छ । जुन मानिसको नङ जस्तै हो । जसले न कुनै रोग नै निको पार्दछ न त यौन शक्ती नै । तर पनि नेपालसहित सरोकारवाल सरकारहरुले देखाएको निरिहताले भ्रममा अडेको बजार दिनानुदिन बढ्दो मात्र छ ।


(पौडेल राष्ट्रिय युवा गैंडा संरक्षण सञ्जालका संयोजक हुन् ।)

This was also appeared printed at NAYAPATRIKA NATIONAL DAILY
on 8 April 2012.


0 comments to “गैंडा मरणको अन्तरकथा”

Post a Comment