Tuesday, January 8, 2013

धूर्वे आतंक किन ?

,

कुमार पौडेल 


चितवन राष्ट्रिय निकुञ्जको हात्ति धूर्वे अहिले जताततै हट केक बनेको छ । संरक्षण क्षेत्रमा एकखाले बहस शुरु त भएको छ नै राजनीतिज्ञका बोलिदेखि फेसबुक, ट्विटरका जोक्समा अहिले धूर्वे विरलै छुट्छ । यसैको कारण निकुञ्जमा वार्डेन सम्म फेरीए तर धूर्वे आतंक किन भयो र जन्मनु पछाडिको नेपाली संरक्षण कार्यनीति कतिसम्म दोषी छ भन्ने चुरो बिषयले भने अझै बहसमा प्रवेश पाएको छैन ।


 धूर्वेको यो स्वभाव कुनै नौलो होइन । जवान हात्ती पोथीसँग सम्पर्क राख्ने चाहना तीब्र हुने समय एक्लो भयो । जंगली हात्तीको आकर्षण भने निकुञ्जकै ध्वरब पोष्टमा रहेको पोथी हात्तिसँग थियो । एकातर्फ ऊ जंगलमा आफ्नो समूहबाट छुट्टिको पीडा झेलिराखेको थियो भने अर्कोतर्फ मन परेकी पोथी हात्तिसम्म पुग्न समेत सक्दैनथ्यो । यसरी मनोवैज्ञानिक समस्या झेलिराखेको थियो धूर्वेले । र, त्यो कुनै अस्वभाविक पनि होइन कि जब कुनै हात्ति एक्लोपनबाट निस्किएको मनोवैज्ञानिक अभाव झेल्छ, ऊ आक्रमक बन्छ । ३० मंसिरमा माडीका बुद्धिविराम र जरिया बोटे यसले उसको १५ औं मानविय शिकार बने ।


सुरक्षार्थ रहेको सेनाको ध्वरुब पोष्टमा बसेका सेनाका जवानलाई लखेट्ने र त्यहाँका घर भत्काउने काम गरी उसले आतंक मच्चाएको थियो । तर त्यहाँ रहेका सैनिक जवानले भेट्न नदिएको ठानेर उसले घर भत्काउने र मान्छे ताक्ने गर्न थालेको थियो । निकुञ्जले त्यसलाई मनोवैज्ञानिक समस्याको रुपमा कहिल्यै हेर्न चाहेन । जसको कारण त्यही साल माघमा सेनाका जवान रिद्धिविर दोङ उसले पहिलो शिकार बनायो, हात्तीपोलोमा एम्पाएर भएर खेल्ने समशेरगजलाई पोलो खेल्दै गरेको समयमा जुधेर माय्रो तर निकुञ्जले यसलाई विनाशक ठानेन ।

 Dhurbe the Elephant

पछिल्लो घटना लगत्तै माडीका बासिन्दा राजनीतिक दलका स्थानीय नेता सहित निकुञ्जको मुख्यालय कसरा पुगेका थिए । त्यसबेला उनले धनजनको क्षतिपूर्ति, हात्तीलाई तत्काल मार्नुपर्ने मात्र माग राखेनन् । स्थानिय नेताहरु भारतपुरबाट माडी जाने सडक २५ मिटर चौडा बनाउने पर्ने माग समेत तेस्र्याए । यसले दिने संकेत के हो भने यहाँ संरक्षण र मध्यवर्ती क्षेत्रलाई संवेदनशील रुपमा कहिल्यै लिइएन । कोहीले यसलाई राजनीतिक खेलको भूमि बनाए भने कोहीले तस्करीको । प्रायः अशिक्षित एवं गरिबिको चपेटामा रहने मध्यवर्ती क्षेत्रका जनता आफै केही वैज्ञानिक बाटो तय गर्नुपर्ने माग राख्न सक्दैनन्÷जान्दैनन् जसो भन्दैमा सरकार त्यसको संवेदनशीलता बिर्सेर आवरणका काममा अल्झिन मिल्दैन ।


विश्वमा सङ्ख्या घट्नै गइराखेको हात्ति एउटा मात्रै पनि मर्नु भनेको सानो कुरा होइन । हामी आफूसँग भएको बहुमूल्य (पैसा नै तिरेपनि एउटाको मूल्य ५० लाखदेखि १ करोडसम्म पछ) बस्तुको स्याहार गर्न सक्दैनौं र त्यसलाई घाँडो सम्झिन्छौं । धूर्वेको हकमा भएको त्यहि हो । संरक्षणको इतिहासमा यस्ता थुप्रै समस्याहरु अफ्रिकी र दक्षिण अमेरिकी देशमा आइरहन्छन् । तर अन्तिमभन्दा अन्तिम विकल्प पर्खेर उनीहरु जनावर मार्ने विकल्पलाई निकै कम प्राथमिकतामा राख्छन् । धूर्वेलाई न कहिल्यै पक्रेर प्रभावकारी उपचारमा लगियो न अन्य मनोवैज्ञानिक कदम चालियो । यहाँ एउटा निकुञ्ज प्रशासन र प्रमुख जिल्ला अधिकारीकै पहलमा मृत्युदण्ड दिने कमजोर नियमकै साहारा लिइयो । यसले लिनसक्ने गलत संस्कारका बारेमा कत्ति सोचिएन । भलै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० को परिच्छेद–२ राष्ट्रिय निकुञ्ज तथा आरक्ष सम्बन्धी व्यवस्था खण्ड ३६ अनुसार कुनै वन्यजन्तु वा पंक्षीलाई हानिकारक घोषित गर्न सकिने र त्यसरी हानिकारक घोषित गरिएका वन्यजन्तु वा पंक्षीलाई सोही सूचनामा तोकिएको शर्त र बन्देजका  अधिनमा रहि  धपाउन, लखेटन, पक्रन वा मार्न सकिने ब्यबस्था छ, त्यहाँ समेत यस्ता कामलाई अन्तिम विकल्पको रुपमा धपाउने, लखेड्ने र पक्रनेपछि राखिएको छ । तर हामी प्रत्युत्पादक तर सहज हुने ठान्दै सिधै अन्तिममा पुग्छौं त्यहि हाम्रो संरक्षण कामको सबैभन्दा ठूलो कमजोरी हो ।


दर्जनौ राउण्ड गोली र ५० भन्दा बढि सेना प्रयोग गर्दा समेत धूर्वे अझै नियन्त्रणमा छैन । यसले दिने अर्को पाठ के हो भने एउटा जानिराखिएको हात्ति नियन्त्रणमा लिन निकुञ्ज सक्दैन भने त्यहाँ तस्कर त सहजै हराउँछन् । फेरी ३ बर्षदेखि यसको अनियन्त्रित चालामाला जानिएको पनि हो । धुर्बे भाले हात्ती भएको र पोथी हात्ती प्रति आकषर्त हुँने हुँदा त्यसलाई लोभ्याउन होटल टाईटर टप्स नजिकै निकुञ्जको पोथी हात्ती पनि राखियो, गतिविधि थाहा पाउन निकुञ्जका प्राविधिक टोलीले रेडियो कलर जडान पनि ग¥यो तर कुनै प्रभावकारी नहुनुमा हामी कतिसम्म  पुरातन ढंगबाट वन्यजन्तु संरक्षणको काममा छौं भन्ने स्पष्ट हुन्छ ।


अहिले चितवन राष्ट्रिय निकुञ्ज छेउछाउमा बसोबास गर्ने सर्वसाधारणहरु जंगली जनावरले आक्रमण बढेपछि त्रसित बनेका छन् । साँझ छिट्टै  ढोका बन्द गरेर सुत्ने गरेका छन् । कतिखेर आएर गाईभैसीको त कुरै छाडौं मान्छेलाईनै बोकेर लग्ने हो भन्ने चिन्ता हुन्छ ।

यदि समयमै यस बिषयमा सतर्कता अपनाएर थप क्षति रोक्नका लागी पहल गरिएको भए यो दिन आउने थिएन। कारण धूर्वे अब झन् बढि बौलाएको हुनसक्छ । धूर्वे सायद अब निर्णय फिर्ता नै लिएता पनि सुधार्न निकै ढिलो भइसकेको छ । तर धूर्वेले हामी सबैलाई एउटा चूनौति दिएर गएको छ, हामी मानव त हौं, तर हाम्रो कदम पनि पशुझैं विवेकशुन्य रहेछ भन्ने । र, हाम्रो संरक्षण कार्यनीति यहि हुने हो भने एउटा धूर्वे मर्दैमा खेल खत्तम भइहाल्दैन ।


शारीरीक र मानसिकरुपमा अस्वस्थ धुर्बे जस्ता वन्यजन्तुलाई उपचार गर्नका लागी र मानविय बस्तीमा जानवाट रोक्नका लागि बैज्ञानीक पद्धती र संरचनाको ब्यवस्था गरीनु आवश्यक छ । धुर्बे भन्दा पनि हामा्रे राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण सम्वन्धि कार्यनिती अवैज्ञानिक तथा अव्यवहारिक छ जसले धेरै धुर्बे हरु जन्माउने र बुद्धिराम र जरिया बोटेजस्ता धेरै निर्दोष जनताको ज्यान जाने निश्चित छ । धुर्बेले एउटा पागल हात्तीको मात्र प्रतिनिधित्व गदैन यसले समग्र नेपाली संरक्षण नितीको पागलपनलाई समेत प्रतिनिधित्व गरेको छ, त्यसैले धूर्वेलाई खोज्ने, समाउने र मार्ने नाममा जंगल सफारीगर्नु भन्दा पनि  धूर्वेआतंकजन्य परिस्थितिलाई मार्नको लागी  धूर्वे आतंक किन भयो भन्ने प्रश्नको उत्तरको खोजी गरी दिर्घकालीन समाधानको बाटोमा लागे उत्तम हुन्छ ।


( लेखक पोखरा विश्वविद्यालयबाट वातावरण विज्ञानमा   स्नातकोत्तर  गर्दै छन्)

This appeared in print at op-ed page in Sourya National dailyClick here for e-paper view

0 comments to “धूर्वे आतंक किन ?”

Post a Comment