Saturday, July 23, 2016

मोहनी मुस्ताङ

,
एकै दिन, माच्छापुच्छ्रेसँग ब्रेकफास्ट, धवलागिरिसँग लन्च र साँझमा नीलगिरिसँग स्थानीय अर्गानिक स्याउको ब्रान्डीमा स्याउकै फ्रेस जुसको साथ डिनर खाने मौका जीवनमा बिरलै मिल्छन्। माथिल्लो मुस्ताङको हुटहुटीले सताएको वर्ष दिनपछि यस्तो साइत जुर्‍यो।

घरकै झ्यालबाट हिमाल देखिने तर पुग्न महिनौँ लाग्ने ठाउँमा हुर्केको मजस्तोलाई, हिमालकै आँगनको बाटो हिंड्न पाउँदा, छाती ढक्क फुल्छ र मनका आवेश, रिस, मोह, खोज सबै सलक्क पग्लिन्छन्। झन् यो यात्रा त हिमालपारिको थियो, जोमसोमबाट माथिल्लो मुस्ताङको बाटो नलाग्दै मन भने कोरला नाका पुगिसकेको थियो।


कागबेनीको बतास छल्दै लोमाङथाङको यात्रा तय भयो। नाङ्गा डाँडाको एकपछि अर्को शृंखला नाघ्दै अघि बढ्यौं। धूलाम्मे मोटर बाटो पछ्याउँदै अघि बढिरहँदा, हावा चलेको कालिगण्डकीको कालो बगरमा एक हूल घोडा दौडिरहेको थियो। ताङ्बेबाट ओरालो झर्दै हिँडिरहँदा बाक्लै लहरै घोडाको जुुरजस्तै लाग्ने बालुवाको आकृतिले त्यही पहाड चढिरहेको भान दिन्थ्यो। दिनभरिको हिँडाइपछि साँझ ढल्केपछि छुकसाङ भन्ने सुन्दर गाउँमा पुग्यौँ। तिजी मेलाका पर्यटकहरूले भरिभराउ छुकसाङका होटलमा बास पाउन हामीलाई साह्रै मुस्किल पर्‍यो। साँझ झिमिक्क पर्नै लाग्दा एउटा गेस्टहाउसमा बस्ने व्यवस्था मिल्यो।

बिहान मस्त निद्रामै थिएँ म। एक सहयात्रीले झकझकाउँदै झ्यालबाट पारितिर देखाए। पारितिर उभिएको छुकसाङ भीर अत्यन्त सुन्दर रहेछ। हस्याङफस्याङ घामको झुल्कोमा नै सुन्दर भीरको पूर्ण तस्बिर कैद गर्न क्यामारा झिकी डाँडातिर लागेँ म। छुकसाङ र चैलेका बीचमा धेरै गुफा रहेछन् तर तीव्र गतिको हावा, भारी हिमपात र पानीले खिइँदै गएको थाहा पायौँ। चैलेमा बिहानको खाना खाएर धीमा गतिमा उकालो लाग्यौँ। चैलेको माथिल्लो डाँडामा पुगेर हेर्दा एउटा अर्को मनमोहक दृश्य देखिए। तल पिँधमा ग्यागर गाउँ र माथितिर काँडाका थुम्काले भरिएको डिल र नाङ्गा डाँडाहरू र अझ माथि सेता हिमालका पंक्ति।

कुनै समय हिमनदीले बगाएर ल्याएको गेगरले भरिएका ससाना उपत्यका, बालुवाको थुप्रो, कतैकतै पानीको मुहान र त्यही मुहान वरिपरि हरिया देखिने बाली, कहीं भोटे पीपल र यी सबका साक्षी बनेर बसेका केही घर नियाल्दै हाम्रो गति बढिरह्यो। स्याङबोचे पुग्नै लाग्दा नाङ्गा पहाडको बीचमा अलिअलि पानी भएको सानो पोखरी बनेको रहेछ। एक्कासि मेरो आँखा एक हूल जनावरका भीडमा पुगेर अडिए। १०/१५ वटा नाउरको बथान त्यही पोखरीवरिपरि चरिरहेका थिए। नाउर जंगली भेडाको एक प्रजाति र हिउँचितुवाको मुख्य आहार हो। नाउरको त्यो हूललाई बिदाइ गर्दै हामी स्याङबोचे पुग्यौँ। स्याङबोचेमा बेलुकाको खाना फापरको ढिँडो र कुखुराको मासु असाध्यै मीठो लाग्यो। दिउँसो घरघरका ढोकामा भोटे खरायोको टाउको झुन्डाएको देखेको भए पनि केका लागि भन्ने ठम्याउन सकेको थिइनँ। ती ढोकामा टाँसिएका खरायोलाई स्थानीय भाषामा भोरुङ भनिंदोरहेछ। यसले बाघ, मुसा, गधालगायत विभिन्न नौ जनावरको प्रतिनिधित्व गर्ने र घरको सुरक्षा गर्ने विश्वासले ढोकामा टाँस्ने गरेको होटलकी साहुनीले एकै सासमा बताइन्।


स्याङबोचेको डाँडा कटेपछि अर्को एउटा सुन्दर गाउँले हाम्रो स्वागत गर्‍यो। त्यो उराठ मरुभूमिको बीचमा हरियाली चउर र त्यस चउर घोडाहरू निर्धक्क चरिरहेका थिए। त्यही घिलिङ गाउँबाट एउटा जिप भेटियो र त्यसैमा चढेर अगाडि बढ्यौँ। जिपको पछाडि झोला च्यापेर बसेको थिएँ। एक्कासि आँखा पिरो भयो। सास रोकिएलाजस्तो भयो। निकै डराएँ। मेरो अघिल्तिर एक ६०/७० की स्थानीय शेर्पिनी आमै टाउकोमाथि पारी नाकलाई हातले छोपेर बसिरहेकी थिइन्। पछि सोध्दा थाहा भयो, उनले नादाक लिएको अरे। उत्तरी हिमाली भेगमा ज्वरो, रुघाखोकीलगायतका बिरामी पर्दा सुर्ती, खरानी र स्थानीय जडीबुटी मिसिएको धूलो नाकले तान्ने गरिँदो रहेछ।घिलिङबाट चराङ हुँदै लोमान्थाङ नपुगन्जेल बाटोमा भेडाचौरीका बथान देखिरह्यौं। साँझ पर्नै लाग्दा पर्खालभित्रको सहरमा बास खोज्न पुग्यौं।


एका बिहानै दुई गिलास भोटे चिया पिएपछि हामी मुस्ताङी राजाको दरबार हेर्न निस्कियौं। पन्ध्रौं शताब्दीमा बनेको पर्खालभित्रको सहरमा राजाको दरबारसहित करिब २ सय घरहरू रहेछन्। माग्दी र तल्लो मुस्ताङबाट महिनौं लगाएर बोकेर लगिएका काठका खम्बाहरू कुँदेर ज्वलन्त मण्डल र गुम्बाहरू बनाइएका रहेछन्। ती गुम्बाका भित्ता भित्तेचित्रहरूले भरिएका छन् जुन लामो समय नियाल्दा पनि सतही दिमागले बुझ्न सकेन।


माथिल्लो मुस्ताङ बसाइको अन्तिम दिन छोसर जाने निधो भयो। छोसर चार हजार वर्षभन्दा पुराना गुफाहरूको राजधानी नै रहेछ। अहिलेका अग्लाअग्ला कम्ल्पेक्स र तिनका चोटा–कोठाहरू बिर्साउने प्राचीन मानव निर्मित गुफाहरूभित्र पसेर नियालेपछि मानव इतिहास र सभ्यता विकासका हजारौं प्रश्न मनमा उठे। त्यो छोटो समयको भ्रमणमा न त म ती प्रश्नका जवाफ खोज्न सक्थेँ न त चित्त बुझाउन। ती अनुत्तरित प्रश्नका चाङ बोकेर हामी त फर्कियौं तर हिमालय र उच्च पहाडका कुना कन्दरामा चरिहिँड्न रमाउने घुमन्ते वा खोज अनुसन्धानमा लिन जो कोहि लाई माथिल्लो मुस्ताङको सुन्दरता र अजिवताले निशब्द लामो समय वाँधेर राख्न सक्छन्।


प्रकाशित: श्रावण ८, २०७३

I wrote this travel story after back from trek to Upper Mustang in Annapurna Conservation Area and this was originally published in  Kantipur Daily

0 comments to “मोहनी मुस्ताङ”

Post a Comment