Thursday, September 15, 2011

बिकाससँगै मौलाएको विकृति र परनिर्भरता

,

‘विकासका पूर्वाधार आफैमा सबथोक होइनन् यसले जनताको जीवनमा लामो समयसम्म ल्याउने सकारात्मक परिवर्तन महत्वपूर्ण हो जसका लागि पूर्वाधारसँगै जनतालाई त्यसको सहि उपयोगको तरिकाहरु सिकाउन आवश्यक छ’

कुमार पौडेल

सानोमा बुवाले आफ्ना बिगतका कुरा सुनाउँदा हप्तादिन लगाएर काठमाण्डौं आएको, उत्तिकै समय लगाएर भोट पुगी पिठोसँग नुन साटेको कुरा खुबै जोड्नुहुन्थ्यो । वहाँका कुराहरु चाख लिएर सुन्न थालेको धेरै बर्ष नहुँदै हामी गाउँबाट काठमाण्डौं एक दिनमै आउन थालिसकेका थियौं । शुरुका केही दिनहरु मेरो सम्झनामा पनि अलिअलि छन्– घण्टौं लगाएर मोटर हेर्न तल्लो शहर झरेका ।

अहिले परिवेश पूरै फेरिएको छ । ‘धन्न बुवाको पाला जस्तो समस्या मेरो पाला भएन’, म मनमनै मख्ख पर्थेँ । अहिले गाउँमा सडक पुगेको छ । पहिलेपहिले टिनका छाना हुने घरहरु अहिले पक्की भएका छन् । धेरैका घरमा मोटरसाइकलहरु पनि थपिएका छन् । ‘गाउँ बिकास त गजबको भयो’ मोटरबाटो नपुग्दै र पुगेपछिको दुई फरक–फरक परिवेश महसुस गरेको मलाई लाग्नेगथ्र्यो । यद्यपि पछिल्ला केही बर्ष यता हरेकपल्ट गाउँ जाँदा मलाई ‘कतै यहि सडक अभिसाप त भएन’ भन्ने कुराले मनमा द्वन्द्व उत्पन्न गराइरहन्छ ।

समाज विकासको मेरुदण्ड एवं समृद्धिको प्रतिकको रुपमा सडकको भूमिका जहिल्यै महत्वपूर्ण हुन्छ । काठमाण्डु, शहरबजार वा तराईमा हुर्केकाले त्यति राम्ररी सडकको महत्व बुझ्न नसक्लान् । तर विकट एवं दुर्गम पहाडि भेगमा मानिसको मुहारमा खुसी ल्याउन सडकको भूमिका अहम हुन्छ । हामीले बेलाबखत टिभी र पत्रपत्रिकामा देखिआएकै हौं कि सडक पुग्दा कर्णालीका मानिसहरुका आँखामा खुसीका आँसु बर्सेका, गाउँभरका जम्मा भएर गाडिलाई फूलमालाले स्वागत गरेकाजस्ता कयौं घटनाहरु । एउटा सडक पुग्दैमा ग्रामिण जीवनले कायापलट गर्छ । सायद त्यसैले त्यहाँ सडक पुग्नु नै बिकासमा ‘छलाङ’ मारेको बुझिन्छ ।



यद्यपि कोटेश्वरबाट अरनिको राजमार्ग हुँदै सिन्धुपाल्चोकको राम्चेमा रहेको मेरो गाउँ जाँदा आजकल मलाई मानिसहरुको परनिर्भरता देखेर निकै पिरोल्ने गर्छ । गाउँमा बाटो त पुग्यो, जसले अहिले बन फँडानी निकै बढाएको छ, मानिसहरु खेतीलाई अब कम आँक्न थालिसकेका छन् । बरु छिट्टो पैसा आउने काम भएकाले तत्कालिन फाइदालाई मात्र हेरेरे तिनै रुख  बेचेर चामल किनेर खान थालेका छन् । झट्ट सुन्दा सामान्यझैं लाग्ने यस घटनालाई नजिकबाट चियाएर हेर्ने हो भने प्रश्नहरु जन्मिन्छन्, ‘के हाम्रो बिकास–निर्माणका काम दिगो हुन सकिरहेका छन् त ?’, ‘बिकास भनेको जनतामा पूर्वाधार निर्माण गरिदिनु मात्रै हो कि त्यसलाई सदुपयोग गर्न सिकाउनु पनि हो ?’, ‘किन कहिलेकाही विकासका पूर्वाधारहरु बरदान नभई अभिसाप पनि हुन सक्छन ?’

शुरुकै वन फँडानिको सन्दर्भमा फर्किउँ । सडक पुगेकै कारण अहिले गाउँमा काठ–दाउराको बेचबिखन त एउटा लहरकै रुपमा फैलिएको छ । सुनकोसीको किनार बिस्तार भएका सडकहरुमा काटिएका रुखहरु लोड भएर गुडिरहेको देख्दा मैले सानैमा आफूले त्यहाँ बिताएका दिनको स्मरण खुबै गराउँछ । हिउँदमा फुटेका पैंतालामा तलबाट थोरै सामान बोकेर मानिसहरु माथिसम्म पुग्नेगर्थे । तल बजारसम्मको सहज पहुँच नभएर पनि होला उनीहरुको ध्येय सधै लेकमै प्रयाप्त उब्जनी गर्नेमा हुनेगथ्र्याे । गाउँमा प्रयाप्त उब्जनी हुने आलु र काउली डोकोमा बोकेर तल झार्दा दिनै बित्नेगथ्र्याे । जतिखेर बुढापाकाहरुले भन्ने गरेको म अझै सम्झन्छु, ‘बाटो मात्रै भइदिएको भए आलु र काउली बेचेरै मात्र खान पुग्थ्यो ।’ तर अहिले त्यही गाउँमा तलबाट आलुदेखि लिएर तरकारीसम्म गाउँतिर लगिएको देख्दा मलाई स्थानियहरुमा बढेको परनिर्भरताले खुबै चिन्तित बनायो । रुखहरु काटिएकै कारण पहिलेको तुलनामा अहिले पानीका मुहानहरु पनि निकै सुकिसकेका छन् । उनीहरुमा परनिर्भरता मात्र बढेको छैन, आफूमा र आफ्नो गाउँ–ठाउँमा भएको क्षमतामा समेत निकै ह«ास आइसकेको छ ।

पछिल्लो समय विश्व अर्थतन्त्रमा आर्थिक मन्दीसँगै जसरी खाद्य संकट पनि चुलियो, जसलाई धेरैले ‘दिगो बिकास’ अवधारणकै कमीको कारण पनि लिन्छन् । नेपालकै परिपेक्षमा हेर्दा पनि केही अघिल्ला दशकसम्म चामल निर्यात गर्ने मुलुक अहिले आयातको दरलाई बर्षेनी बढाइरहेको छ । नेपालले निर्माण गर्ने बिकास योजनाहरुमा सडकहरुको बिस्तार गर्नुको आवश्यकतापछाडि स्थानिय स्रोतसाधन र क्षमतालाई अधिकतम उपयोग गराउँदै स्थानिय तवरमै रोजगारी सिर्जना गर्ने भनिएता पनि त्यो अपेक्षाकृत ढंगबाट व्यावहारतः कार्यान्योयन भइराखेको छैन । पछिल्लो त्रिवर्षिय योजनाले त्यसैगरी थप ६७५ किलोमिटर सडक देशभरमा थप्दैछ । जुन उसको उपलब्धीमा मानिसको जीवनस्थरमा ब्यापक सुधार ल्याउन काम गरेको भन्नेहोला । तर सडक पुगेपछिको अवस्थामा जनतामा त्यसलाई कसरी सदुपयोग गर्ने भन्ने ज्ञान नभएसम्म त्यसले मात्र वास्तविक विकास गर्न नसक्ने निश्चित छ । हामीले बुझ्नुपर्छ कि– विकासका पूर्वाधार आफैमा सबथोक होइनन् यसले जनताको जीवनमा लामो समयसम्म ल्याउने सकारात्मक परिवर्तन महत्वपूर्ण हो जसका लागि पूर्वाधारसँगै जनतालाई त्यसको सहि उपयोगको तरिकाहरु सिकाउन आवश्यक छ ।

1 comments: