वातावरणीय प्रभाव मूल्यांकनको औचित्य


कुमार पौडेल

पछिल्लो समय सरकार विभिन्न बहानाबाजीमा वातावरणीय नियम कानुन उल्लंघन गर्दै विश्व सम्पदा सूचीमा सूचीकृत नेपालकै पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्जलाई चितामा राखेर मलामी हिँड्न तम्तयार भइरहेको देखिन्छ । नेपालको सन्दर्भमा सत्ता र सरकारमा पहँुच भएकाबाट चाहे राजनीतिक, चाहे व्यक्तिगत स्वार्थ पूर्तिका लागि प्राकृतिक स्रोतसाधनको विनाश गरिनु नौलो भने होइन । तर, सरकारले चितवन राष्ट्रिय निकुञ्जजस्तो संवेदनशील क्षेत्रमा सडक तथा रेलवे सेवा विस्तार गर्ने निर्णय गरेर आफ्नै खुट्टामा बन्चरो प्रहार गरेको छ ।

यी र यस्तै कार्यबाट सरकार पछि नहटे विश्व सम्पदा सूचीबाट चितवन हट्ने निश्चितप्राय: छ । योपटक यस्तो विषय राम्रैसँग सञ्चारमाध्यममा आए तापनि यसअघि पनि थुप्रै यस्ता अध्ययनबिनाका काम सरकारी पक्षबाट भएका थिए । केही महिनाअघि वन मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जभित्र निजी हात्ती छिर्न दिने निर्णय पनि त्यस्तैमध्येको एक थियो । सम्बन्धित सरोकारवाला निकायहरूसँग छलफल र वातावरणीय प्रभाव मूल्यांकन (इआइए) नगरी उक्त निर्णय गरिएको कारण त्यसबेलासमेत नागरिक समाजदेखि संयुक्त राष्ट्रसंघीय निकाय (युनेस्को) बाट समेत कडा चासो व्यक्त गरेपछि निकुञ्जले उक्त कार्य रोक्नुपर्‍यो । त्यसको केही समयपछि सरकार फेरि अर्को वातावरणीय मुद्दाको विवादमा तानिएको छ, भौतिक योजना मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जभित्रबाट ठोरीदेखि त्रिवेणी जोड्ने सडकखण्ड बनाउने निर्णय गरेर । र, यो विषयसमेत कति कमजोर गृहकार्यमा आधारित रहेर गरिएको रहेछ भन्ने पुष्टि सर्वोच्च अदालतले समेत यसरी निकुञ्ज मासेर सडक नबनाउन आदेश जारी गर्नुबाट बुझिन्छ । दुवै संवेदनशील रूपमा उठेका मुद्दाहरू यसरी विवादमा आउनुमा सतही कारण भने एउटै छ,प्रभावकारी रुपमा इआइए नगरिनु ।

दुवै निर्णय प्रत्यक्ष रूपमा वातावरणीय सवालसँग जोडिएका मुद्दा हुन् । सरकारका यस्ता निर्णयले चितवन राष्ट्रिय निकुञ्जजस्तो जैविक विविधतामा धनी तथा लोपोन्मुख जनावरहरूको वासस्थान संकटतर्फ धकेलिन सक्छ । आमचासो पनि यही हो कि विकास निर्माणका कामलाई यसरी अघि बढाउँदा निकुञ्जको विनाश हुनु भएन । तर, प्रभावकारी रुपमा इआइए गर्न आफैँले बनाएका कानुन मिच्न सरकार नै जहिले पनि अघि सरेको पाइन्छ ।

वातावरण संरक्षण ऐन–२०५३ ले कुनै पनि वातावरणसँग जोडिएको विकास निर्माणको काम गर्दा बाध्यकारी रूपमा इआइए गर्नुपर्ने व्यवस्था गरेको छ । गरिएका इआइएका समेत आफ्नै खाले कमजोर पक्ष होलान् तर गर्दै नगर्दा त्यसले झनै ठूलो समस्या सिर्जना गर्न सक्छ । इआइए नगरीकन विकास निर्माणको कार्य अगाडि बढाउँदा कस्तो अवस्थाको सामना गर्नुपर्छ भन्ने प्रश्नको राम्रो उदाहरणका रूपमा चीनको ‘थ्री गोर्ज ड्याम’ छ । जडान क्षमताको आधारमा विश्वको सबैभन्दा ठूलो जलविद्युत् केन्द्र मानिने थ्री गोर्ज ड्यामको सपना सन् १९१९ मा नै बुनिएको थियो । जसबारे सन् १९५६ मा माओले कवितासमेत लेखेका छन् ।

सन् १९९४ मा सुरु भएको उक्त परियोजना सन् २००६ मा सकियो, जसलाई चिनकै एउटा ठूलो सफलताका रूपमा निकै खुसीयालीसमेत मनाइयो । तर, ड्याममा पानी भरिन नपाउँदै १३ लाखभन्दा बढी मानिस विस्थापित हुनुपर्‍यो । हजारौं गाउँहरू तलाउमा परिणत भए । पहिरोले बेजोड रूप लियो । भौगोलिक र जैविक बिपत्तिले जैविक संकट ल्यायो । अहिले चीन सरकारका लागि तिब्बत र ताइवानजस्तै तेस्रो समस्याका रूपमा ‘थ्री गोर्ज ड्याम’ थपिएको छ । जुन वातावरणविज्ञहरूको सुझाबको बेवास्ता गर्दै, वातावरणीय प्रभावको उचित मूल्यांकन नगरी बनाइएको थियो ।

निकुञ्जमा हात्ती पठाउने वा नपठाउने यो कुरा इआइएपछि मात्र थाहा हुन्छ । सडक खन्नु नै हुन्न भनेर मात्र मूल्यांकन हुँदैन । उल्लेखनीय प्रभाव पार्ने वा नपार्ने त्यस्तो प्रभावलाई कुनै उपायद्वारा हटाउन वा कम गर्न सकिने वा नसकिने सम्बन्धमा वैज्ञानिक विश्लेषण गर्न सकिन्छ । विकल्पका बाटाहरू समेत भेटिन सक्छन् । तर,प्रभावकारी रुपमा इआइए नै नभए त्यस्ता सम्भावनाहरू सुरु नहुँदै मेटिन्छन् ।

मैले श्रीलंकामा यस्तै विकल्प निस्किएको एउटा काम देखेको थिएँ । राजधानी कोलम्बोदेखि दक्षिणी सहर मातरा जोड्ने एक सय एक किलोमिटर लामो सडक जंगलबीचबाटै बनाइएको भए पनि प्रभाव न्यूनीकरण गर्न राम्रा अभ्यास भएका छन् । सडकको दुवैतर्फ तार बारिएको छ । त्यहाँ हर्न बजाउन निषेध गर्ने नियम बनाइएको छ । जंगली जनावर आवतजावत गर्न सकुन् भनेर धेरै ठाउँमा थुप्रै ओभर हेड ब्रिज र सब–वे बनाइएका छन् । वातावरणीय नियम कानुन विकासविरोधी नीति नभई वातावरणमैत्री दिगो विकास प्रवद्र्धनका लागि हुन् । यद्यपि नेपालमा वातावरणीय प्रभाव मूल्यांकनविना नै निर्णयहरू गरिन्छन् । मूल्यांकन गरिएकाहरू पनि झारा टार्ने काम मात्र भएको छ, जसले वातावरणीय संकट त निम्त्याउँछ नै, विकास निर्माणका कार्यसमेत दिगो रूपमा सुसम्पन्न नहुने निश्चित छ ।


No comments:

Post a Comment