सकसमा काठमाडौं

कुमार पौडेल

काठमान्डौ विश्वका प्रदूषित सहरमध्ये पर्छ । एउटा साधारण तथ्य यस्तो छ । नेपाल आयल निगमको अनुसार यहाँ दैनिक २ लाख ३५ हजार लिटर पेट्रोल, औसत ३ लाख लिटर र ५५ हजार लिटर मटितेल खपत हुन्छ । मात्र एक लिटर इनधन खपत हुँदा हानिकारक भोलाटाइल हाइड्रो कार्बन, कार्बनमोनो अक्साइड, ग्रिनहाउस लगायतका ग्याँस सहित २.६ किलोगा्रम कार्बनडाइअक्साइड निस्कन्छ। यसको निराकरणको लागी कङ्क्रिटको जंगल काठमान्डौं संग कुनै बिकल्प छैन।



पछिल्ला दुई दशकमा यहाँ साढे ६ गुणाले पेट्रोल र साढे ३ गुणाले डिजेलको माग बढेको छ । त्यसमाथि काठमाडौं उपत्यका बटुको आकारको छ । पर्वतिय श्रृङखला र महाभारत पर्वतले काठमान्डौ वरिपरि एक प्रकारको घेरा बनाएको छ । जसले प्रदुषण बढावा गर्ने पद्धार्थलाई गजब्बले अचेटेर राख्ने गर्दछ । जाडोमा वायुमण्डलमा रहेका प्रदूषणका कणहरु धेरै माथि जान सक्दैनन् । यसैबेला बर्षा शुन्यप्रायः हुन्छ । पेट्रोलियम पद्धार्थको खपत यसैबेला बढि हुन्छ । काठमाडौंको वायुमण्डल त्यसैले जाडोमा झन् सकस झेल्छ । 
यसरी राजधानी काठमाडौं प्रकृति अनुकुल वातावरण, १० कि मि को व्यासमा आठ वटा विश्व सम्पदा सुचिमा सुचिकृत सम्पदाले सूसज्जित, मन्दिरको शहर भइकन पनि वातावरणणिय समस्याको जालोमा फसिराखेको छ।

हामीले लिने श्वासमा बेन्जीन, कार्वनमोनोअक्साइड लगायतका हानिकारक पदार्थ मिसीएका हुन्छन् । यस शहरको लागि आफ्नै भुगोल बाधक बनेको छ । त्यसमाथि जाडोमा मौसमी वायु समेत हामी अनुकुल हुंदैन । त्यसैले हामीले लिने हावामा धुलो मात्र होइन, ल्युकोमिया, क्यान्सर लगायतका रोगको कारक तत्तव वेन्जीन मिसिएको हुन्छ । विश्व स्वास्थ्य संघठनले वायुमा २० पाट्र्स पर मिलियन (पीपीएम) सम्म बेन्जिनको मात्रा हुनुलाई श्वास लिन योग्य मानिएता पनि काठमान्डौमा हामी त्यसको तीन गुणा बढि करिब ६० पीपीएम बेन्जिन भएको हावा खाइरहेका छौ।
 
बढिराखेको उपत्यकाको जनसङ्ख्याका बिच यहाँ दैनिक ७ लाखभन्दा अधिक सवारी साधन गुड्छन् । २० वर्षभन्दा अधिक आयु पुगेका सवारी साधनको संख्या उल्लेख्य छ । जब यहाँ  २०० किलोमिटर  गाडि गुड्ने सडक छ । गाडिको भिड र साँगुरो सडक घण्टौं जाम गराउने प्रमुख कारण हुन् जसले हावामा बिष मिसाउन अझै सहयोग गरेको छ । उपत्यकामा दैनिक विर्सजन हुने १० टनभन्दा अधिक फोहरको सही व्यवस्थापन हुन नसक्दा मुख्य सहरी क्षेत्रमा हिँड्दा नाक थुनेर हिँड्नुर्पने अवस्था छ ।  जलप्रदूषणको अवस्था यति भयावह छ कि उपत्यकाका कुनै पनि नदी, खोलाहरूमा जलचर बाँच्न सक्दैनन्।

शहरिकरण एकातर्फ वरदान देखिएला तर थुप्रैतर्फ अभिसाप लाग्छ । जस्तो, कंक्रिट जंगल जसरी आकाश छुने भव्य अर्पाटमेन्ट र सपिङ मल त बनिरहेका छन् तर त्यसले व्यवस्थित सहरको अवधारणा विगारेका छन् । व्यवस्थित सहरी योजनालाई लत्याउँदै निर्माण भइरहेका आवासीय क्षेत्रहरुले महानगरको सौन्दर्यमाथि नै दाग लगाइरहेका छन् । उपत्यकामा हरियाली भनेको त शून्यबराबर नै भइसक्यो । स्वयम्भू चैत्यवरपर र पूर्वराजपरिवारको निवास भएका कारण नारायणहिटी दरबारवरपरबाहेक हरिया र ठूला रूख उपत्यकामा देखिँदै देखिँदैनन् । खाली जग्गाहरु या त हाउजिङ र अपार्टमेन्ट निर्माणमा प्रयोग गरियो, या रुखबिरुवा रहेका भूभागसमेत डोजर लगाएर प्लटिङ गरियो । हलै काठमाडौं महानगरपालिकाले अब नक्सा पास हुने घरमा २ वटा रुख हुनैपर्ने बाध्यकारी नियम बनाएको छ जसको प्रभावकारीता कस्तो हुन्छ त्यो भने हेर्न बाँकी छ।
  
यसका लागि सरकारलाई एकोहोरो दोष लगाउन मात्र पनि सकिंदैन। विक्रम ट्याम्पु, चोभार सिमेन्ट कारखाना यहाँबाट हटाइए । अझै सञ्चालनमा नआएता पनि प्रदुषण मापन गर्न बिभिन्न ठाउँमा प्रदुषण मापन केन्द्र स्थापना गरेको छ ।  प्रदुषण मुक्त सवारी साधन पहिचान पत्र सवारिलाई दिइनु र समय समयमा धुवाँ जाँच गराउने कार्य राम्रा सुरुवात हुन् । यद्यपि यी भनेका आवरणका काम हुन् प्रदूषणका जराका समस्यामा भने हाम्रो प्रवेश भएको छैन जुन सबैभन्दा महत्वपूर्ण हो।
 
वायु प्रदुषण सवारी साधनमा भन्दा पनि यसमा प्रयोग गरिने इन्धनमा वढि जिम्मेवार हुन्छ। नेपाल, बिशेषत काठमान्डौमा चल्ने सवारी साधनहरु अन्तरराष्ट्रिय बजारका उत्पादन हुन् । जुन अन्तरराष्ट्रिय मापदण्डमा बनाइएको हुन्छ । सवारी साधनहरु गुणस्तरकै रहेता पनि यसमा प्रयोग गरिने इन्धनमा ढुक्क हुने अवस्था छैन । गुणस्तरिय इन्धन नभइ मात्र इन्धनको खोजीमा हिड्न हामी बाध्य छौं काठमान्डौं बासीहरु।

पछिल्लो समय काठमान्डौं भ्रमण गरेर फर्कने एक फिरङीहरुको एक ब्लगमा यहाँको वायु प्रदुषण स्थिति बारे बग्रल्ती चिन्ता पोखिएको थियो  । उनी कठमान्डौं भ्रमण नगर्न र गर्नु पर्दा पनि उच्च स्तरिय मास्क लग्न नर्बिसन सुझाव दिएका थिए । काठमान्डौ सन् १९६० को दशकदेखि प्रत्येक दश बर्षमा आउने गरेको बताउने एक पर्यटक आफ्नो ब्लगमा लेख्छन् “न्युयोर्कमा सन् २०११ मा वल्र्ड ट्रेड सेन्टरको हमलाको समय मैले न्युयोर्क तानेको वायु र काठमान्डौंको वायु उस्तै छ । म धन्न बाँचे, किनकि म सँग उच्च स्तरिय मास्क थियो । तपाई काठमान्डौं जाँदै हुनु हुन्छ ? यदि हो भने, सकेसम्म छोटो बसाई योजना बनाउनु होला।”
 
काठमान्डौं विभिन्न कालखण्डमा त्यसै थुप्रै ठूलासाना राजाको आँखामा परेको होइन । यद्यपि योजना तथा वैज्ञानिक सभ्यता विकास नगरी नै मानिस मात्र थुपारिंदा समस्या हरेक पुस्तामा थप्रिएको छ । सुरु भएका राम्राकार्यहरु निरन्तरता नदिइनु ठुलो बेइमानि भएको छ । सवारीसाधन र प्रदूषणबीच अन्योन्याश्रति सम्बन्ध छ । त्यसो त सवारी साधनमात्रै प्रदूषणको कारण भने होइन । त्यसको उचित व्यवस्थापन र वातावरणमैत्री सवारीको प्रयोग गर्न नसक्नु यसको कारक हो । त्यो कसरी गर्न सकिन्छ ? साइकल, रिक्सा र विद्युतीय सवारी साधनलाई बढावा र मोटरसाइकल, निजी गाडी र भाडाका गाडीको उचित व्यवस्थापन गरेर । गौशाला एयरपोर्ट क्षेत्रमा साइकल लेन बनिनु राम्रा सुरुवात हुन् ।  जसलाइ निरन्तरता दिइनु आवश्यक छ। 

दुर्भाग्यै मान्नुर्पछ, ट्रलिबस सधैँको लागि बन्द भयो । २०३२ सालमा चीन सरकारको सहयोगमा ३० वटा ट्रलिबसबाट सुरु भएको त्रिपुरश्वरदेखि भक्तपुरको सुर्यविनायकसम्म १३ किलोमिटरमा ट्रलिबस सेवा  समयानुकूल व्यवस्थित गर्न नसक्दा आम यात्रुको आर्कषण यसले ओगट्न सकेन अन्त्यमा बन्द भयो।

काठमाडौंले साझा यातायातका ठूला बसलाई समेत टिकाउन सकेन । साझा त सकियो नै, अरु ठूला गाडी पनि खासै छैनन् । तिनका ठाउँमा अनगिन्ती माइक्रोबस, मिनीबस, ट्याम्पु चलेका छन् । एउटा ठूलो गाडी गुडे पुग्नेमा दसवटा साना गाडी गुड्छन् । साना गाडीका यातायात व्यवसायीलाई संगठित गरी तिनकै लगानीमा सहरभित्र ठूला बस चलाउनु आवश्यक छ।
 
प्राविधिक दृष्टिले काठमाडौंको वायुप्रदूषण कम गर्न खासै कठिन पनि छैन । राज्यको करीब एक तिहाई जनसंख्या बसोवास गर्ने सहर भए पनि यो संसारका यति नै मानिस बस्ने अरु धेरै सहरभन्दा निक्कै सानो छ। काठमाडौँका वायु प्रदूषणको मूल श्रोत डिजल र पेट्रोलले चल्ने सबारी साधन नै हुन्। यी सबारी साधनको प्रयोग असी प्रतिशतभन्दा बढी मानिसको आवतजावतका लागि हुन्छ। निजी कार तथा मोटरसाइकल, सरकारी तथा विकासे कार्यालयका बाहन, बस तथा मिनीवस एवं सामान ओर्साने ट्रकहरु नै यातायातका मूल साधन हुन् । काठमाडौंलाई सामान्य मानिसका लागि बस्न योग्य ठाउँ बनाउने हो भने अब यस विषयमा व्यापक छलफल गरेर नयाँ बाटो अवलम्बन गर्नैपर्छ।
 
भौगोलिक बनोटले पनि राजधानी साइकल यात्राको लागि उपयुक्त ठाउँ हो । राजधानीको केन्द्रबाट उपत्यकाका बिभिन्न मुख्य ठाउँ ६,७ किलोमिटरको दूरीमा छन् । त्यसैले यी ठाउँमा साइकलबाट मजाले पुग्न सकिन्छ । उपत्यकामा अनियन्त्रित रुपमा बढिरहेको निजी सवारी साधनको प्रयोग कम गर्न आवश्यक छ । काठमाडौं उपत्यकालाई स्वच्छ र जनमैत्री बनाउनका साथै आयातित खनिज इन्धनमा आधारित यातायात प्रणालीमा तत्काल परिवर्तन ल्याई, दीर्घकालीन रुपमा यातायात व्यवस्थापन सहज बनाउन र वातावरणीय सन्तुलन कायम गर्न आवश्यक छ । र, प्रदूषण कम गर्न सबैभन्दा मुख्य कुरा एउटा उत्कृष्ट संस्कार नगरबासीमा सिकाउनु जरुरी छ जसले मात्रै त्यसका लागि जिम्मेवार थुप्रै समस्यालाई सुल्झाउन सक्छ । किनकि काठमाडौंबासीले सबै कुरा बाहिरबाट आयात  गर्न सकेता पनि हावा यहींकै खानुपर्छ। 

No comments:

Post a Comment