Tribute to Tika Bahadur Sapkota

मंसिरको अन्तिम साता थियो। एकाबिहानै उठेर हिड्नु पर्दा आँखामा निद्रा अझै बाँकि थियो। अमलडाँडा पुगे पछि सिरिङ्ग भएँ। कालिन्चोकको हावा सिधै आएर मै माथि ठोक्कीएर गएको आभाष भो।

यो वि.स. २०५५ साल तिरको कुरा हो, मार्से देखि शेरा फाँटसम्मका धान घर घरमा छिरिसकेको थियो। म त्यही फाँट टहल्दै आमाको पछि पछि लुरु लुरु हिंडिरहेंको थिएँ।

घाँस काट्ने कि आमालाई साथि जाने भन्ने बिकल्पमा मैले यो विकल्प रोजेको थिएँ। आमाले कुकुरगाडेका जुल्फे काकाले घरमै आएर बुनेको बाँसको ठुलो थुन्चे बोक्नुभएको थियो।

त्यो थुन्चे राम्चे मानेडाँडाको एउटा पसलमा पुगेर रोकियो। थुन्चेबाट अदुवाको ठुलो ठुलो पानो आमाले खन्याउनुभो। जती अदुवाको पानो तराजुमा खस्थ्यो, आमा र पसले हजुरबा उत्तीकै खुसि देखेर म कहिले पसले हजुरबा, कहिले आमा त कहिले तराजुको अदुवामा हेर्थेँ।

पाउलो कोहेल्लोले आफ्नो प्रशिद्ध उपन्यास इलेभेन मिनेट्समा लेखेजस्तै महत्वपूर्ण भेटघाट शरीरहरु सम्मुख हुनुभन्दा पहिले नै आत्माहरुले गरिसकेका हुन्छन् । वहाँलाई देख्दा म कुनै अपरिचितसँग पहिलोपटक भेट्दैछुझैं कत्ति पनि लागेन।

पसले हजुरबा भन्दैथिए, ज्यादै खुसिलाग्यो पोहोर साल भन्दा निकै राम्रो गर्नुभएछ। किन हतार गरेर ल्याउनु भएको चैत सम्म कुरेको भए दोब्बर आउँथ्यो बिउको भाउमा। खाँचो नै परेको भए मलाई भनेको भए भइहाल्थ्यो नी, मलाई अदुवा नै ल्याईदिए भईगो। अब मकै नरोपेर धेरै अदुवामात्र रोप्नु। यसरी ग्राहककै हितमा सोच्ने पसले देख्दा म दङ्ग परेको थिएँ।

त्यसको दुई बर्ष पछि म सरस्वती मा.वि. मा कक्षा ६ मा भर्ना भएँ र दिनहुँ त्यहि पसलको बाटो हिड्न थालँे। मेरो त्यो पसल र उहाँमा नजर परिरहन्थ्यो। बजारबाट पसलको सामानको भारी सँधै आफैले बोकेर ल्याएको देख्थेँ। सफा आँगन, छेउमै गेट बनेर ढकमक्क फुलेको फुल, चम्किलो सेता पहिरनमा बेला बेला मान्छेको आहोर दोहोर, कहिले सर्बत र प्रसाद बाटोमै बााडिरहेको, यी सबै दृश्य देख्दा कुनै धाम भन्दा कम लाग्दैन थियो।

बिहान ठुलो श्वरमा पढिरहेको बाटो हिँड्दा नै सुनिन्थ्यो। के पढ्नुहुन्थ्यो भन्ने मेरो बाल्य मतिष्कले नबुझे पनि उहाँका बारेमा मेरो मनमा हजार प्रश्न उब्जीसकेको थियो। उहाँको उत्तरार्ध समयमा केहि पटक भेटे पनि ति प्रश्नहरु न त उहाँलाई नै सोधेँ न त अरु कसैलाई। एकमुष्ट बलीयो प्रेरणा बनेर मलाई जगाईरह्यो।

मकालु बरुण राष्ट्रिय निकुञ्जबाट चितवन फर्कंदै गर्दा उहाँले शरिर छाड्नु भएको खबर सुने। एकाएक यी क्षणहरु मानषपटलमा आए। जहाँ रहेपनि उहाँको सोच र सत्मार्गले हजारौँलाई प्रेरणा भने दिईरहन्छ।


No comments:

Post a Comment